Inclusive Democracy, Human Rights, Equal Rights Of Political Power-Sharing, Socialism For The People, Empower To The Women. Poverty Eradication.

नेतृत्वमा विचारको संकट


मिठाराम विश्वकर्मा/ 


रोबर्ट बाडेन पाओल भन्छन्-" फराकिलो हेराई, उच्च विचार, अागाडि बड्नु; र बाटो देख्नु" नेतृत्वमा हुनुपर्ने गुणहरु हुन् । यी कुराहरू संसारका मानिएका नेतृत्वमा पाइन्छ । नेतृत्वले पछि अाउन सक्ने सफलता र कठिनाइ पर्ति सचेत गराउछन् । मार्क्सले आफ्नो जीवन कालमै "दर्शनको दरिद्रता" नामको पुस्तक लेखे । निश्चित रुपमा मार्क्स रिकार्डोको आर्थिक विचारसंग सहमत देखिन्छन् । माओले पनि "अन्तरबिरोध" नामकै पुस्तक लेखे । उनका कुराहरू पर्ति कति गम्भीर भैइयो होला, यो कुरा उहाँका विचार पछ्याउनेलाई थाहा होला । माइकल ए लिबोविटजले दाबासाथ भनेका छन् " मार्क्सको समाजवादी विचारलाई कहिलै पनि बुझ्ने प्रयत्न गरिएन, मार्क्सले त समाजवाद र कम्युनिजम जोडेर "अधिकार सम्पन्न समाज" अर्थात उनकै शब्दमा "सोलिडारियन सोसाइटी" ( दि सोसियलिस्ट अल्टरनेटिभ पुस्तक)को सृजना गर्ने कल्पना गरेका थिए । यस कुरालाई नेपाली नेता वीपीले पछ्यएको पाइन्छ । मार्क्स र माओको पनि यी विचारमा सायद कहि त्यस्तो अकर्मण्यता देखिदैन । सबैलाई "प्रजातन्त्र" को कुरा गर्नै पर्ने हुन्छ । तर जहिले सुकै "कस्तो प्रजातन्त्र" ? त भन्ने प्रश्न उठिरहेको छ । आजको प्रजातन्त्रको निर्धारित दृष्टिकोण के हो त ? खोज्नु पर्ने प्रमुख कुरा र सन्दर्भ चाखलाग्दो कुरा बन्न सक्छ । यतिबेला मार्क्स-लेलिनको विचार भन्दा माअोको विचारको प्रभाव नेपालमा देखिन्छ । दस वर्षको विद्रोहले पनि माअविचारको पुर्णतः नदेखिएर पुनः नया ढंगबाट माअोवादी विचार बोकेर विद्रोह भइरहेको छ । यसको निर्धारण भोलिको अबस्थाले पुष्टि गर्ला ।
मार्क्सको "दर्शनको दरिद्रता" भन्ने विचार मार्क्सवाद आइसकेपछि पनि कम्युनिस्ट विद्रोह टुंगोमा पुग्ने छैन, नयाँ परिस्थिति सृजना हुन्छ भनेका छन् भने वीपी कोईरालाले पनि प्रजातन्त्र अाउछ तर सुकिलामुकिलासंग सतर्कता अपाउनु पर्ने विचार ब्यक्त गरेकाछन् । उता पार्टी भित्र अन्तरविरोध हुन्छ भन्ने चेतावनी माओले दिएका छन् । आज नेपालमा प्रजातन्त्र अाइसकेपछिको अबस्था झण्डै उनीहरूले देखेको भविष्यको दृष्टिकोणसंग मेल खान्छ । विचारको जन्म कहिले र कसरी हुन्छ भन्ने कुरा अनुमानका अाधारमा भन्न सजिलो छैन । उदाहरणका लागि मात्रै भन्ने हो भने क्राइस्ट जन्मनु भन्दा रोमन कवि होरेसले "हामी सबै जीवनबाट मुक्त हुन चहान्छाै तर दु:खद कुरा सोचे जस्तो बन्न सक्दैनौं ।" अर्का ग्रीस दार्शनिक हेराब्कीटसले क्राइष्ट जन्मनु भन्दा पाच सय वर्ष अगाडि " परिवर्तनको नियम बाहेक सब चीज परिवर्तन हुन्छ" भने । मानव समुन्नत हुनका लागि मानव विकास संगसंगै विचार जन्मदै आएका छन्, हुन सक्छ ती विचारहरु धार्मिक वा राजनीतिक किन नहुन् । जन्मने विचारको खाचो कहिलै परेन तर विचरलाई ब्यवहारिक बनाउने कुरा फेरि कहिलै टरेन । विचारहरु बने तर ती विचारहरुलाई अाउने पुस्ताले कहिलै वचाएनन्, के यो सत्य होइन त ? मार्क्सको विचार बाच्यो ? माओको विचार बाच्यो ? वीपीको विचार बाच्यो ? यतिमात्र किन ? प्लेटो, सोक्रेटस, गान्धी, अब्राहम लिङ्कन अादि अादिको विचार पनि बाचेको छैन । कुनैको पनि विचार बाचिरहेको छ, हामी भन्न सक्छौ ?
२००७ सालमा राणालाई अपदस्त गरेर प्रजातन्त्र ल्याएको हामीले दाबी गर्नेछौं । तर त्यतिबेला एकथरी राणालाई अपदस्त गरेर अर्काथरी राणालाई स्थापित गरिएको मात्र हो । केही राणाको अन्त्य भएहोला तर फेरि राजालाई नै बलियो बनाउने काम भयो । त्रिभुवन भगाैंडा राजा हुन्, भागेकोलाई फिर्ता ल्याइयो । जसले गर्दा नेपाल माथि भारतको हस्तक्षेप त्यसबेला देखि नाङ्गो रुपमा देखियो । उदाहरण, तत्कालीन राजा त्रिभुवनको निजी सचिव भारतीय गोबिन्दनारायण सिंह नियुक्त गरिनु उपर्युक्त नाङ्गो हस्तक्षेप नै पर्याप्त मान्न सकिन्छ ।
यस सन्दर्भमा ब्राह्मण पुत्र भएका कारण मृत्युदण्ड नदिएका जीउँदो सहिद भनिने टंकप्रसाद आचार्य राजा महेन्द्रको नेतृत्वमा प्रधानमन्त्री हुँदा वाहिरी हस्तक्षेपका विषयमा केकति प्रयत्न भए, यी कुरा खुलेर बाहिर आएनन् । अर्को कुरा महेन्द्र र वीपी कोइराला पोखरा हुँदै नेपालगञ्ज सम्मको पैदल यात्रा र नेपालगञ्ज पुगेपछि महेन्द्र नेपालगञ्ज नै बस्नु र वीपी काठमाडौं फर्केर तुलशी गिरीको हातमा भारतका प्रधानमन्त्री नेहरुलाई पठाएको पत्र नेपालगञ्ज पुगेर महेन्द्रको हातमा सुटुक्क दिनु, त्यो चिठीमा के लेखिएको थियो, त्यो कुरा पनि नेपाली राजनीतिको गर्भमै रह्यो । यत्तिमात्रै होइन चाख लाग्दो कुरा के भने महेन्द्र नेपालगञ्जबाट फर्के लगत्तै चीन जानु र चीनबाट फर्के लगत्तै वीपीको नेतृत्वको सरकारलाई अपदस्त गरेर निर्दलीय पंचायती ब्यबस्था लाद्नुको कारण पनि रहस्यमय नै बन्यो ।
भनिन्छ, नेपाली राजनीतिमा भारतीय बल्लबभाई पटेल निकै उत्साहित थिए । उनले भागेर भारत पुगेका भगाैडा राजा त्रिभुवनबाट नेपालको राजनीतिमा असल अबसर देखेका थिए । तर उनेले नेहरुलाई कन्मिन्स गर्न सकेनन् । दुख लाग्दो कुरा के छ भने दिल्ली हाईकोटको न्यायाधीश समेत भएका फालि स नारिमानले आफ्नो पुस्तक "द स्टेट आफ दि नेशन" मा भारतको सिमाना उत्तर हिमालयको रेञ्ज भनेर लेखेका छन् । यस्ता सबै कुराहरू हामीले किनारमा बसेर टुलुटुलु हेरिरहेका छाै । मलाई लाग्छ, भार-चीनको सहयोगको आबस्यकता छ । भारत-चीनले नेपालीका लागि चासो राख्नै पर्ने अबस्था छ । किनभने भारत-चीन वीचको नेपाल यदि समृद्ध हुन सकेन भने विश्व राजनीतिमा यीनहरुको मुल्यांकन सुरु हुनेछ । समृद्धिशाली दुई देश वीच एउटा देश अबिकसित छ, आर्थिकरुपमा कमजोर छ, थोरै जनसंख्या भएको देशमा पनि रोजगारीको अनुकुल अबस्था छैन, राजनीतिकरुपमा स्थीर छैन, यसको भागिदार यीनिहरु पनि हुनेछन् । यसकारण हामीले यी दुबै देशलाई समान दृष्टिकोणबाट हेरिनुपर्छ । आज भारत-चीनले धेरै ठुलो फट्को मारि सके, उनिहरुको सानो सहयोगले पनि हामीले ठुलो फट्को मार्न सक्छौं । अाज विश्व ब्यपारको सामराज्य चीनको पकटमा पुगिसकेको छ । हामी प्रजातान्त्रिक मुलुक  र चीन कम्युनिस्ट देश भनेर जति अालोचना गरे पनि अब उसलाई केही फरक पर्नेवाला छैन । भारत-चीन नेपालीका लागि समान असल मित्रहरू हुन् , उनीहरू हाम्रा असल मित्र बन्नु पर्ने बाध्यता पनि उनीहरूको टाउकोमा छ, ताकि हामीले मात्र यी असल मित्रहरू हुन् भन्नु पर्ने अबस्था होइन । शक्ति सम्पन्न देशले आफ्ना छरछिमेकी देशलाई हेर्नै पर्ने हुन्छ, अन्यथा विश्व राजनीतिमा अालोचित भइन्छ ।
अब हामीलाई ब्यबहारिक विचारको अाबस्यक छ । सायदै विश्व ईतिहासमा पहिलोपटक मानव अधिकारका लागि सक्रिय र मानव बिकासको प्रक्रियामा विश्वको ध्यान केन्द्रित भएको हुनुपर्छ । मार्क्सले त्यसै "दर्शनको दरिद्रता" पुस्तक लेखिएका होइनन्, माअोले त्यसै "अन्तरविरोध" लेखिएको होइनन्, उनीहरूले अभ्यासका क्रममा देखिएका कुरालाई अाउने पुस्तालाई सचेत वनाउन खर्चेको समय हो । वीपीले पनि आफ्नो अभ्यासका क्रममा "प्रजातन्त्र त अाउछ-तर सुकिलामुकिलाहरुकाबाट सजक हुनु है ।" होसियारी बनाएको बुझ्नु पर्छ । जब विचारलाई ब्यबहरमा उतारिदैन तब नेतृत्वमा विचारको संकट पैदा हुन्छ, जुन आज हामीले ब्यहोरि राखेका छाै । विचार जतिसुकै उत्कृष्ट वताए पनि ब्यबहरत: लागु गरिएन भने नेतृत्वको संकट पैदा हुन्छ । पंचायती संविधानमा पनि समतामूलक समाजको निर्रमाण गर्ने भनिएको थियो, यो कम प्रगतिशील विचार थिएन, किन सम्भब भएन ? त्यहाँ पनि नेतृत्वको संकट भयो । राजाको वरिपरि घुमे पुग्छ । किन टाउको दुखाउने ? भन्ने नेतृत्व जन्म्यो, जुन नेतृत्व आज पनि जन्मिरहेको छ । मालिकको वरिपरि घुम्ने र बाठा कुरा गरे पुग्छ, पैसा भए पुग्छ, मसल भए पुग्छ, खुरापात गरे पुग्छ, ठुलठुलो स्वरमा "प्रजातन्त्र" "प्रजातन्त्र" भने पुग्छ, किन टाउको दुखाउने ? यस्ता कुराहरूले नेतृत्वमा संकट पैदा गराएको छ । अहिले त भन्न सुरु गरिसकेका छन् "बुढा नेताको काम छैन" युवालाई नेतृत्व दिनुपर्छ । यो अर्को लाजमर्दो कुरा । मलेसियामा माथिर पञ्चीस वर्षीय लक्का जवान हुन् ? कि सिङ्गापुरका लि क्वान तीस वर्षीय फाइटर ब्रुस्ली हुन् ? नेतृत्वको सवाल उमेर होइन, यदि हो भने परिपक्क विचार हो, जसलाई ब्यवहारमा उतारिएको हुनुपर्छ । अमेरिकाको उदाहरण दिएर चालीस वर्षको ब्यक्ति राष्ट्रपति भयो, हामी पनि हुनुपर्छ । यो होइन, यस्तो हुनु पनि हुँदैन । कथमकधापी यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुनेछ । नेता तलवार चलाउने तलवारवाज होइनन्, नेतृत्वले त विचारको तलवार चलाउने "ब्रेनक्यपस्" हुन् । भनिएको छ- "दि ह्युमेन माइन्ड विल वि फिटेट् उइथ "ब्रेनक्यापस" वाई न्युरो ईन्जिनियरस एण्ड ईलेक्ट्रो-अप्टिकल टेक्नोलोजीकल डभाइस वल्ड स्टोर मेमोरिज्स एण्ड माइनुट पर्सोनल डिटेइल्स राइट डाउन टु इन्डिभिज्युल कोडस् ।"
यसै सन्दर्भमा केन्द्रित भएर राजनीतिक विषयबस्तुका बारेमा कुरा उठाउदा के नेपालको नेतृत्वमा वास्तवमा विचारको संकट छ त ? भन्ने प्रश्न उठाउन सकिन्छ । र, नेतृत्वमा विचारको संकट छ भनेर सहज उत्तर दिन मिल्छ । ब्यक्ति र कुनै राजनीतिक दलको नाम नलिदा राम्रो हुन्थ्यो तर केही कुरा प्रष्ट पार्न लिनै पर्ने हुन्छ । मानाैं, बामपंथी नेता चित्र बहादुर केसीले संघियताको विरुद्धमा खरो रुपमा उत्रिए तर यहि संघियताको स्वरुपमा लुत्रुक्क परेर उपप्रधानमन्त्री भए । अब उनको विरोधको के अर्थ रह्यो त ? पाउँदा ठिक नपाउदा बेठीक । यस्ता घटनाक्रम नेपाली राजनीतिमा चलिनै रहेको छ । यसलाई दाउ लगाउने चलाखी भन्न सकिन्छ । नेपाली राजनीतिमा ठुलठला चुनाैतिको जिम्मेवारी नेपाली काँग्रेसले पूरा गरेको छ तर जनता वीच जाने एजेन्डा चाहिँ छैन, बास्तवमा भन्नु पर्दा एजेन्डा नै छैन । जनताले अाफ्नो जनजीविकासंग गासिएको एजेन्डा खोज्छ, यस्तो एजेन्डा छैन । फलानोले यस्तो-उस्तो गर्यो, यो एजेन्डा होन । एजेन्डा त्यो हो सर्वसाधारण जनताले सहज रुपमा बुझ्न सक्छ र ग्रहण गर्छ । अहिले काँग्रेस प्रतिपक्षी छ, एजेन्डा छैन । जब कुनै विषयबस्तु भनाै वा विचारलाई माहाअभियानको रुपमा ग्रहण गर्नुपर्छ भन्ने हामीलाई लाग्छ भने त्यसैभित्र विचारको उद्धेश्य र दृष्टिकोण खोजिन्छ । त्यो कुरा दिन सकियो भनेमात्र नेतृत्व सफल भएको ठानिन्छ । अहिले भर्खर काँग्रेसले माहाअभियान सकेर काठमाडौंमा फर्केको अबस्थामा पनि काँग्रेसमा ठोस एजेन्डा थिएन, बरु अाफुभित्रको अन्तरकलह उदाङ्गियो । नेकपासंग पनि कुनै ठोस एजेन्डा भएको पाइदैन । तथापि मनहोहन अधिकारी प्रधानमन्त्री हुँदा एक सय बृद्धाभत्ता जनताको जनजीविकासंग जोडिएकोले बलियो एजेन्डा बन्यो । यो एजेन्डा राम्रै गरि भजाउन सके, बृद्धाले नेकपा पार्टी चिनेनन्, हामीलाई बृद्धाभत्ता दिने सुर्य हो त्यसैलाई भोट दिन्छाै भन्दै लाैरो टेकेर बुथमा पुगे ।
नेपाली काँग्रेसले राष्ट्रियताको कुरा उठाउनु त्यस्तो तुकको एजेन्डा होइन । गरीबी, अभाव, विपन्नता, समाजिक असुरक्षा र विभेदको जगमाथि राष्ट्रियता बलियो हुनसक्दैन । कुनै पनि नेपाली जनताले अब अर्को देशको नागरीता हुने कल्पना गरेका छैनन् । बरु ठुलो जनशक्ति र त्यो जनशक्तिलाई गरिएको लगानी विदेशीएको छ । यो चिन्ताको विषय हो । यतातिर हाम्रो ध्यान गएको छैन । नेपाल जस्तो सानो मुलुकको जनशक्तिका लागि गरिएको यति ठुलो लगानी बाहिर जान्छकि बाह्र कक्षा उत्तीर्ण गरेर फेरि ठुलो लगानी गरेर बाहिरिन्छ र सकभर फर्केर अाउदैन । नेपाली काँग्रेसको सरकारले निजीकरणका नाममा नेपाली उद्योग-धन्दा धरासायी बनाएको दाग मिटाउन समय अझै लाग्न सक्छ तर जनताका जनजीविकासंग गासिएका विषय-वस्तु अझै छन्, ती विषय-वस्तुको उठान गर्न सकिन्छ । हुनत म काँग्रेसबाट विभिन्न अबसर प्राप्त गर्दै सांसद समेत भएको ब्यक्तिले ढाकछोप गर्नु पर्ने हो । यसो भनिरहदा यसको कटिङ सहित पार्टीमा उजुरी पर्ला र यस भन्दा पहिला उजुरी परैकै हुन् । तर पङ्तिकारको हिसाबले म स्वतन्त्र हुनुपर्छ भन्ने लाग्छ । जे होस् हाम्रो नेतृत्वमा विचारको संकटछ, नेतृत्व भ्रष्टाचार तिर उन्मुख छ, नाता-फरिया-जात पर्ति उन्मुख छ, नेतृत्व गुन्डागर्दीमा अार्सित छ । जसले गर्दा विचार मरेको छ । बास्तबमा भन्नु पर्दा काँग्रेस-कम्युनिस्ट मरेको विचार बोकेर अाफु बाचिरहने असल माैकाको तलासमा छन् ।
Email: mitharamdukhee@gmail.com

Share:

0 Comments:

Post a Comment

Translate

Blog Archive

Definition List