४५औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस । बिपी कोइरालाले आजभन्दा ४४ वर्षअगाडि यसै दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महसुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए । आफ्ना राजनीतिक सहपाठी गणेशमान सिंहका साथ दर्जनौँ कार्यकर्तासहित भारतको स्वनिर्वासनलाई परित्याग गर्दै बिपी स्वदेश फर्केको दिन । आजको दिनलाई विगतदेखि नै नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।
आज कांग्रेसले एकाध ठाउँमा भाव र लयशून्य मेलमिलापको गीत पनि गाउनेछ । मेलमिलाप दिवसको महŒवको कथा वाचन गरिनेछ र केही नेताले यसको खुबै महिमामण्डन गर्नेछन् । तर, यी सबै हिजो गिरिजा बाबुले एमालेसहितका कम्युनिस्टलाई मिलाएर सात दलको गठबन्धन बनाउनु मेलमिलाप नीतिकै तहमा गरिएको हो । भारतीय नेतालाई साक्षी राखेर दिल्लीमा सशस्त्र विद्रोही माओवादीसँग गरिएको १२ बुँदे समझदारी पनि बिपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलाप नीतिकै अधीनमा गरिएको हो भन्दै महिमा गाए भने आश्चर्य मान्नुपर्ने छैन ।
बिपीले मेलमिलापको प्रस्ताव कम्युनिस्ट वा अन्य कुनै दलसँग गरेका थिएनन् । त्यो प्रस्ताव राजा वा राजसंस्थासँग नै थियो । बिपी कम्युनिस्टहरू राष्ट्रवादी नहुने र प्रजातन्त्रवादी पनि नहुने भएकाले उनीहरूसँग मिलेर प्रजातन्त्रको लडाइँ लड्ने मान्यतामा कहिल्यै थिएनन् । प्रजातन्त्रको सवालमा राजासँग संघर्ष गर्दै बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गरी राष्ट्र बचाउन र बलियो बनाउन, राष्ट्रियताको मूल्यमै राजसंस्थासँग एकता र मेलमिलापको प्रस्ताव गरेका थिए । बिपीले भनेका छन्, ‘राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौँ । एउटा परिधि बनाऔँ । त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौँ । बाहिरको खतरालाई हामीले ध्यान दिऊँ । मलाई पहिले बाहिरको खतराको ध्यान हुँदैनथ्यो, तर अहिले त मलाई त्यसको धेरै अनुभव भएको छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वमा थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।’ बिपी अगाडि भन्छन्, ‘राजा महेन्द्रले बुझेनन्... आफ्नो राजतन्त्रको जरा खने । बरु म माटो भर्न थालेको छु, राजतन्त्रको जरामा ।’ राजसंस्थाबाट सबैभन्दा बढी प्रताडित बिपीले राष्ट्र र राष्ट्रियताको मूल्यमा राजसंस्था अपरिहार्य ठाने । तर, अर्का नेताले पहिलो राष्ट्रपति बन्ने लोभमा बिपीका यी अडान र मूल्यलाई झर्लामझुर्लुम पारे । त्यसको मूल्य आज देश र कांग्रेस चुकाउँदै छ । अझ कति चुकाउनुपर्ने हो, त्यसको कुनै ठेगान छैन ।
बिपीले कम्युनिस्टसँग मिले प्रजातन्त्रको लडाइँ लड्दिनँ भने । कांग्रेसले कम्युनिस्टसँग मिलेर प्रजातन्त्रको लडाइँ लडेकै परिणाम आजको दयनीय कांग्रेस र सशक्त कम्युनिस्ट हुन गएको हो । बिपीले राष्ट्रियता बलियो बनाउन राजासँग मेलमिलापको प्रस्ताव राखे, आजको कांग्रेसले कम्युनिस्टसँग मिलेर राजा फाल्ने उद्योग गर्यो । कम्युनिस्टसँग मिलेर गणतन्त्र ल्याउन लाग्ने कांग्रेसले पुसको जाडोमा गणतन्त्रको पछ्यौरा ओडेर बिपी कोइरालाले देशका सामु राखेको राष्ट्रिय एकता र मेलमिलाप प्रस्तावको महिमा गाउनु र त्यस दिनलाई राष्ट्रिय पर्व अथवा दिवस मनाउनुको औचित्य छैन । मेलमिलाप दिवस र यसको महत्व संग्रहालय वा पुस्तकालयमा अध्ययन, शोध र अनुसन्धानको विषय हुन सक्छ, तर अहिलेको कांग्रेसको आदर्श र मान्यता हुन सक्दैन ।
बिपीले राष्ट्रियता बलियो बनाउन राजासँग मेलमिलापको प्रस्ताव राखे, आजको कांग्रेसले कम्युनिस्टसँग मिलेर राजा फाल्ने उद्योग गर्यो । कम्युनिस्टसँग मिलेर गणतन्त्र ल्याउने कांग्रेसले त्यस दिनलाई दिवसका रूपमा मनाउनुको औचित्य छैन ।
देशको संकटपूर्ण राजनीतिक परिस्थिति र दिशाहीन कांग्रेसको एउटा निरीह कार्यकर्ता भएर राष्ट्रिय एकता र मेलमिलाप दिवसमा बिपीलाई श्रद्धापूर्वक स्मरण गर्दै बिपीको सोच र आजको कांग्रेसलाई नियालेर हेर्दा मन वेदनाले भरिएर आउँछ । प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाका क्रममा कांग्रेसका नेताहरूको सत्तामोहले उग्र कम्युनिस्टसँगको अस्वाभाविक एवं सिद्धान्तहीन निकटताले पार्टीको सैद्धान्तिक एवं वैचारिक मौलिकता धुमिल भइसकेको छ । मुलुकको लामो प्रजातान्त्रिक आन्दोलनबाट स्थापित एवं आर्जित गौरवशाली चरित्र वा कांग्रेसपनको साख समाप्त हुँदै छ । विचार र सिद्धान्तले बिपी र वर्तमान कांग्रेसका बीचमा लगभग अब सम्बन्ध छैन । अन्तिम दुई संस्थापक नेता गणेशमान र किसुनजीले पार्टीले लिएको बाटो र कांग्रेस नेतृत्वको रवैयाले दुःखी भएर पार्टी छाड्नुपरेका कारण उहाँहरूको वर्तमान कांग्रेससँग नाता टुटेको छ ।
बिपीको राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्र प्राप्त गर्ने र प्रजातन्त्रलाई आधार बनाएर राष्ट्रियतालाई अझ बलियो बनाउने नीति नै मेलमिलापको नीतिको सार थियो । कुनै वेला नेपालको आर्थिक, सामाजिक र कूटनीतिकलगायत प्रत्येक क्षेत्रमा नेतृत्वदायी अग्रगामी विचार संवाहन एवं प्रवाह गर्ने त्यो नेपाली कांग्रेस आज कस्तो पक्ष र कस्तो प्रवृत्तिको पृष्ठपोषक हुन पुगेको छ ? १४औँ महाधिवेशनमा कसरी नेतृत्व कब्जा गर्ने र नेकपा फुटेको मौकामा कसरी राजनीतिक लाभ लिने भनेर दाउ हेरेर बसेको आजको कांग्रेस नेतृत्वले यसलाई बुझ्न अझै चेष्टा गरेको छैन । यी सवालमा कांग्रेसका वर्तमान युवापुस्ताले आफ्ना नेतृत्वका सामु जवाफ माग्नु र पार्टीलाई सही मार्गमा डोर्याउन दबाब दिनु, पार्टीको जीवनमा व्यापक वैचारिक बहस र परामर्श गर्नुको बदला केवल एउटा–एउटा गुटको नेताको लबेदाको फेरो समातेर राजनीतिक पद र हैसियत पाउने दाउमा लाग्दासम्म कांग्रेसमा परिवर्तनको कुनै आशा राख्न सकिन्न ।
राष्ट्रियता, कांग्रेसको स्थापनाकालीन प्रमुख राजनीतिक अडान र सिद्धान्त हो, राष्ट्रियताकै लागि प्रजातन्त्रको लडाइँ लडिएको हो । कम्युनिस्टको जस्तो केवल राजनीतिक वादको आवरणमा राष्ट्रियता र राष्ट्रिय भावलाई बिर्सेर केवल प्रजातन्त्रका लागि कांग्रेसले क्रान्ति गर्न सम्भव छैन । प्रजातन्त्रको पहिलो र एउटा मात्र सैद्धान्तिक आधार भनेको राष्ट्रिय एकता र मेलमिलापको आधार हो । यो भनेकै राष्ट्र बलियो बनाउने आधार हो । राष्ट्र बलियो बनाउने नीति नै राष्ट्रिय एकता र मेलमिलापको नीतिको सार हो । त्यो नै बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पनि नीति थियो । मुलुकको यति लामो राजनीतिक इतिहासमा राष्ट्रिय एकताका हिमायती बिपीलाई बिर्साउने अर्को शक्ति राष्ट्रिय राजनीतिमै जन्मन सकेको छैन । तर, आज त्यही महान् राष्ट्रवादी बिपीको स्थान कांग्रेसको जीवनमा कहाँ छ ? अहम् प्रश्न खडा भएको छ ।
सत्तास्वार्थमा राष्ट्रियताको भावनाबाट भड्किएका कांग्रेसका केही नेताले लज्जास्पद तरिकाले बिपीले राजनीति गरेको कालखण्ड अर्कै थियो, अब समय परिवर्तन भइसक्यो भन्दै बिपीको विचारलाई अपव्याख्या गरिरहेका छन् । पार्टीलाई सिद्धान्तहीन सत्ताको खेलमा फालेर वामपन्थी भासमा धकेलिरहेका छन् । झन्डै दुईतिहाइ निकट सरकारको नेतृत्व गरिरहेका कम्युनिस्ट नेता ओलीद्वारा संविधानलाई धुजाधुजा पारेर संसद् विघटन गर्दासमेत अझै कांग्रेसको होस खुलेको देखिन्न । बरु उनीहरू कम्युनिस्टलाई प्रजातन्त्रको मार्गमा ल्यायौँ भनेर गर्व गरिरहेका छन् ।
वर्तमानको खाँचो भनेको कांग्रेसले इतिहासमा गरेको भूललाई सच्याएर मुलुक र आमजनताले पुनः विश्वास र भरोसा गर्न सक्ने पार्टी बनाउनु हो, जुन पार्टीको नेतृत्वमा मुलुक सुरक्षित रहन सक्छ र प्रजातन्त्र नेपाली जनताको संस्कार र पद्धति भएर रहन सक्छ । यो भावलाई पक्रनका लागि अझै हामीसँग समय छ । तर, यसका लागि कांग्रेसको झन्डामा बिपीका विचार फरफराउनु पर्छ । कांग्रेसका दस्तावेजहरूमा सुवर्ण शमशेर एवं भट्टराईको निष्ठा एवं समर्पण र गणेशमान सिंहको त्याग र साहसको वासना हुनुपर्छ । कांग्रेसका नेता र कार्यकर्तामा आदर्श, सदाचार र प्रजातान्त्रिक संस्कार भरिएको हुनुपर्छ, तर अहिले कांग्रेसमा यी सब कुराको कल्पना पनि गर्न सकिन्न ।
बिपी नेपाली राजनीतिका आधुनिक बुद्ध हुन् । जसरी बुद्ध जीवनलाई एउटै शिराबाट अध्ययन गरेर हुन्न, त्यसैगरी बिपीलाई ००७ सालको जनक्रान्तिका नायक, प्रधानमन्त्री, समाजवादी चिन्तकका रूपमा भिन्न–भिन्न आलोकमा हेर्नु र अध्ययन गर्नुपर्ने हुन्छ । कम्युनिस्ट र कांग्रेस दुवै शक्तिले देश, राष्ट्रियता र प्रजातन्त्रको मूल्यलाई केन्द्रमा राखेर इतिहासबाट सिक्न चाहन्छन् भने यो दिवसको सान्दर्भिकता सकिएको होइन कि अझै बढेर गएको छ ।







0 Comments:
Post a Comment